राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ भदौ १३ काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको पुन: दोहोर्याएका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले राज्यका सबै किसिमका संयन्त्र परिचालन गरी प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको दोहोर्याएका हुन् ।
‘राज्यका सबै किसिमका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्याउन चाहन्छौँ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।
रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत तटीय क्षेत्रमा भएको ठूलो जनधन तथा भौतिक क्षतिप्रति सरकार अत्यन्त गम्भीर र संवेदनशील रहेको उनले बताए ।
प्रधानमन्त्री शाहले बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई कुनै कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको बताएका हुन् ।संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँग निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्दै उद्धार तथा राहत कार्यलाई पूर्ण क्षमताका साथ अघि बढाइएको उनले बताएका छन् ।
राज्यका सबै किसिमका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता हो,’ प्रधानमन्त्री शाहले भनेका छन् । उनका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ।
‘नेपाल सरकार प्रभावित नागरिकहरूको साथमा छ र उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी राख्नेछ,’ प्रधानमन्त्री शाहले भनेका छन्।
प्रधानमन्त्रीले विपद्को समयमा पीडितहरूको जीवन रक्षा र मनोबल बढाउने गरी सूचना प्रवाह गर्न आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रहसमेत गरेका छन् ।