राष्ट्रिय सन्देश संबाददाता, ३२ मिनेट पहिले
२०८३ असोज २४ काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना शनिबार बेलुकीदेखि सुरु भएको छ । प्राप्त जानकारी अनुसार खुला उपसभापति र महामन्त्रीका उम्मेदवारहरूको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि प्रारम्भ गरिएको हो । मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले उम्मेदवारहरूसँग छलफल गरी उनीहरूकै रोहवरमा मतपेटिका खोलेको थियो ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको मतगणना प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन सीसीटीभी क्यामेरा जडान गर्नुका साथै उम्मेदवारका प्रतिनिधिहरूको नाम संकलन गरेर गणना थालिएको बताइएको छ । यसअघि शुक्रबार राति मतदान सम्पन्न भएलगत्तै सभापति पदको मतगणना गरिएको थियो, जसमा गगनकुमार थापा भारी मतका साथ विजयी भइसकेका छन् । थापाले आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै झन्डै ९४ प्रतिशत मत प्राप्त गरेका हुन् ।
यसैबीच, नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पराजित उम्मेदवार श्यामकृष्ण खड्गी लगायत अबको मतगणनाबाट आउने सबै पक्षलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाललाई साथमा राखेर सम्बोधन गर्दै थापाले पार्टीमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि आफ्नो भूमिकाबाट पन्छिन नपाउने बताए ।
चुनावबाट क्षणिक रूपमा जित-हारको नतिजा देखिए पनि पार्टी निर्माण र आगामी यात्राका हिसाबले सबै नेता-कार्यकर्ताको उत्तिकैमहत्त्वपूर्ण भूमिका रहने विश्वास उनले दिलाएका छन् ।