मंगलवार, १९ जेष्ठ, २०८३

नारायणहिटी हत्याकाण्डको २५ वर्ष: इतिहासकै त्यो रहस्यमय दिन

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

नारायणहिटी हत्याकाण्डको २५ वर्ष: इतिहासकै त्यो रहस्यमय दिन

२०८३ जेष्ठ १९, काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ ।

पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको सम्पूर्ण परिवारको हत्या भएको यस ऐतिहासिक दिनको सम्झनामा आज देशका विभिन्न स्थानमा विशेष कार्यक्रम गरी २५औँ स्मृति दिवस मनाइँदै छ ।

विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन नारायणहिटी राजदरबारभित्र आयोजना गरिएको नियमित पारिवारिक भोजका क्रममा अप्रत्याशित रूपमा यो अकल्पनीय घटना घटेको थियो ।

त्यस कालरात्रिमा भएको अन्धाधुन्ध गोलीकाण्डमा परी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, राजाका कान्छा भाइ धीरेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरू शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको विभत्स हत्या भएको थियो ।

घटनाकै दिन राजपरिवारका अधिकांश सदस्यको निधन भएपछि नेपालको इतिहासले एउटा नयाँ र जटिल मोड लिएको थियो ।

घटनालगत्तै अचेत तथा अर्धमुर्छित अवस्थामा फेला परेका तत्कालीन युवराज दीपेन्द्र शाहलाई जेठ २० गते नयाँ राजा घोषणा गरिएको थियो । उनी सैनिक अस्पतालमा उपचाररत र अचेत रहेका कारण तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई राज्यको नायबी (राजप्रतिनिधि) घोषणा गरियो ।

अस्पतालमै उपचारका क्रममा जेठ २२ गते दीपेन्द्रको पनि निधन भएपछि ज्ञानेन्द्र शाहलाई नेपालको नयाँ राजा घोषणा गरिएको ऐतिहासिक तथ्य छ ।

दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाउन तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाट सम्मिलित दुई सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो ।

उक्त समितिले विस्तृत अध्ययनपछि युवराज दीपेन्द्रले नै परिवारका सदस्यहरूको हत्या गरी अन्तमा आफैँमाथि गोली प्रहार (आत्महत्या) गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यद्यपि, प्रविधिक र वैज्ञानिक दाबीसहित सार्वजनिक गरिएको उक्त प्रतिवेदनलाई आम नेपाली जनताले भने आज २५ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सहजै स्वीकार गर्न सकेका छैनन् ।

राजा वीरेन्द्रको शालीन र जनप्रिय छविका कारण आज पनि उनको परिवारको सामूहिक अवसान भएको यस दिनलाई नेपाली समाजले गहिरो शोक र आदरका साथ स्मरण गर्ने गर्दछ ।

advertisement_1676998982.gif