राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८३ जेष्ठ २३, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताए ।
“सरकार र मन्त्रीलाई प्रलोभनमा पारेर निर्णय प्रभावित गर्ने बिचौलियातन्त्रका नाइकेहरूको भूमिका समाप्त हुँदै गएको छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भने “वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक छ र राजनीति कस्तो हुनुपर्छ भन्ने उदाहरण हामीले प्रस्तुत गर्नुपर्छ ।”
उहाँले राजनीति कुनै व्यक्ति विशेषको स्वार्थपूर्ति गर्ने वा कसैलाई पदमा पुर्याउने माध्यम नभई देशलाई सही दिशा दिने साधन हुनुपर्ने धारणा व्यक्त गरे । विकास निर्माणका काममा कुनै क्षेत्र वा समुदायलाई विभेद नगरिएको उल्लेख गर्दै उनले विकासमा सबैको समान पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको बताए ।
शक्ति, पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँट गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउँदै सञ्चारमन्त्री तिमिल्सिनाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताए । उहाँले सरकार र सत्तारुढ दलले नागरिकका आकांक्षा, गुनासा र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे ।
“दुई–तीन महिनामै सबै अपेक्षा पूरा हुन सक्दैनन् र ठूलो परिणाम पनि तत्काल नदेखिन सक्छ । सरकारले लिएको दिशा, गरिएका निर्णय र अपनाइएको कार्यविधि सही छ कि छैन भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ।”” उनले भने ।
सञ्चारमन्त्री तिमिल्सिनाले सरकारलाई अझ प्रभावकारी बनाउन सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको बताउँदै सत्तारुढ दलको जिल्ला अधिवेशनमा आग्रह–पूर्वाग्रह त्यागेर सहकार्यको वातावरण बनाउन आग्रह गरे । जिल्ला अधिवेशनबाट सहमतिका आधारमा सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै उनले समूह, प्यानल वा गुटगत राजनीतिले दलको छवि धुमिल बनाउन नहुने धारणा राखे ।
कार्यक्रममा रास्वपाका सांसद बोधनारायण श्रेष्ठले नुवाकोट र धादिङ जिल्लाका साझा समस्या तथा विकासका मुद्दा संयुक्त रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए । नेतृत्व समस्या नभई समाधानको माध्यम हुनुपर्ने उल्लेख गर्दै उहाँले समस्याको समाधान गर्न सक्ने व्यक्ति नै सफल नेतृत्वकर्ता बन्न सक्ने बताए । जिल्ला नेतृत्व सोहिअनुसार छानिएर आउने अपेक्षा पनि उनले व्यक्त गरे ।