आईतवार, ७ भाद्र, २०८३

पार्टीभित्र देखिएका समस्याको हल पार्टी कार्यालयकै कोठाभित्र बसेर खोज्नुपर्छ :शर्मा

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

पार्टीभित्र देखिएका  समस्याको हल पार्टी कार्यालयकै कोठाभित्र बसेर  खोज्नुपर्छ :शर्मा

२०८३ भदौ ०६ काठमाडौँ ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र समस्याको हल अदालतको ढोका ढक्ढक्याएर नभई पार्टी कार्यालयकै कोठाभित्र बसेर संवादमार्फत खोजिनुपर्ने बताएका छन्। शनिबार नेपाली कांग्रेसद्वारा आयोजित ‘ग्रीन रन’ कार्यक्रमको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीको हितका लागि नेता-कार्यकर्ताहरू एकापसमा बसेर खुला छलफल गर्नुपर्नेमा जोड दिए।

विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नरहेको उल्लेख गर्दै शर्माले आगामी असोजमा हुने केन्द्रीय महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सबैलाई आह्वान गरे। महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री लगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न चाहने नेता तथा कार्यकर्ताका लागि ढोका खुला रहेको स्पष्ट पार्दै उनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे।

यसैक्रममा उपसभापति शर्माले राजनीतिक दलहरूको दायित्व सीमित दायरामा मात्र खुम्चिन नहुने बताए। दलहरूको काम सरकार बनाउने, संविधान निर्माण वा संशोधन गर्ने र चुनाव जित्ने-हार्नेमा मात्र सीमित नरही नागरिकका दैनिक जीवन र पर्यावरणजस्ता सामाजिक मुद्दाहरूसँग पनि जोडिनुपर्ने उनको भनाइ थियो।

advertisement_1676998982.gif