सोमबार, १८ जेष्ठ, २०८३

पूर्वसभामुख महरालाई १ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

पूर्वसभामुख महरालाई  १ लाख धरौटीमा  रिहा गर्न विशेष अदालतको आदेश

२०८३ जेष्ठ १८ , काठमाडौं ।विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। सुदर्शनदेव भट्ट र  बिदुर कोइरालाको इजलासले शनिबार (अथवा जेठ १७ गते) सो आदेश दिएको हो। विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर गरिएको तस्करीमा सघाएको आरोपमा महरा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भएको सुन तस्करीमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २६ चैत २०८२ मा पूर्वसभामुख महरा, उनका छोरा राहुल महरासहित २९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको थियो।

उक्त घटना २०७९ पुस १० गतेको हो, जतिबेला फ्लाई दुबईको उडानबाट चिनियाँ नागरिक लि हाङ सोङले दुईवटा सुटकेस नेपाल ल्याएका थिए। ती सुटकेसभित्र ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट (भेप) फेला परेको थियो, जसमा सुन लुकाइछिपाइ ल्याइएको अनुसन्धानबाट खुलेको थियो।

अख्तियारको आरोप पत्र अनुसार, शंकास्पद देखिएका ती मालवस्तुको भौतिक रुपमा कडा जाँचबुझ गर्नुपर्नेमा भन्सारका कर्मचारीहरूले तस्करहरूसँगको मिलेमतोमा जाँच नै नगरी छाडेका थिए।
बरामद गरिएका सामानहरू सुरक्षित रूपमा गोदाममा बन्द गरी राख्नुपर्ने कानुनी प्रावधान विपरीत गलत मनसायले प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखिएको अख्तियारको दाबी छ।   अनुसन्धानका क्रममा पूर्वसभामुख महरा सहितका व्यक्तिहरूले सुन छुटाउन सक्रिय समूहका सदस्यहरूसँग अस्वभाविक भेटघाट र निरन्तर फोन सम्पर्क गरेको पुष्टि भएपछि उनीहरूमाथि मुद्दा दायर गरिएको थियो। सोही मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले महरासँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

advertisement_1680627706.gif
अन्य समाचार