राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ असार १९, काठमाडौँ । रिक्त रहेको निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मोरङका मानबहादुर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो। लामो समयदेखि शीर्ष नेतृत्वविहीन रहेको आयोगमा रिक्तता परिपूर्ति गर्ने गरी परिषद्ले यो निर्णय लिएको हो।
यसैगरी, शुक्रबारकै बैठकले आयोगको खाली रहेको सदस्य पदहरूमा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको छ। आयोगमा लामो समयदेखि प्रमुख आयुक्त र सदस्यहरू नहुँदा दैनिक तथा रणनीतिक कार्यहरू प्रभावित हुँदै आएका थिए। संवैधानिक परिषद्बाट सिफारिस भएका यी तीनै जनाको नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय समितिबाट अनुमोदन (क्लिन चिट) पाएपछि राष्ट्रपतिद्वारा उनीहरूलाई विधिवत् रूपमा पदमा नियुक्ति गरिने कानुनी व्यवस्था रहेको छ।