मंगलवार, २६ जेष्ठ, २०८३

प्रतिनिधि सभा बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

प्रतिनिधि सभा बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने

२०८३ जेष्ठ २५, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज सोमबार बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तय भएको यस बैठकमा मुख्य रूपमा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि बजेटमाथि सदनमा सामान्य छलफल सुरु हुनेछ भने छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यक्रम रहेको छ । व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले आजै विभिन्न महत्त्वपूर्ण विधेयकहरू समेत सदनमा प्रस्तुत गर्नेछन् ।

उनले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू संसद्मा पेस गर्ने कार्यसूची छ ।

आजको बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धीहरू पनि पेस हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, सन्धीसम्बन्धी कार्य अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं. ८१’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।

advertisement_1676551537.gif