राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ असार २५, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न प्रतिवेदनहरू पेस गर्ने र नयाँ विधेयकहरूमाथि विचार गर्ने कार्यसूची तय गरिएको छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–०८२’ पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी मन्त्री गौतमले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–०८२’ पनि बैठकसमक्ष पेस गर्नेछिन् ।
प्रतिवेदनहरू पेस गरिसकेपछि प्रधानमन्त्री शाहको तर्फबाट कानूनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यसका साथै उक्त विधेयक प्रस्तुत गरिएपछि ‘नेपाल विशेष ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समेत आजको बैठकमा छलफलका लागि प्रस्तुत गरिने कार्यसूची रहेको छ ।