राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ असार ३०, काठमाडौँ । प्रतिनिधि सभा बैठक आज (मंगलबार) बस्ने भएको छ ।
बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘न्याय परिषद्को वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’, ‘न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ र ‘लोक सेवा आयोगको ६६ औं वार्षिक प्रतिवेदन (२०८१ श्रावण २०८२ आषाढ)’ पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री साहको तर्फबाट कानुनमन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘राष्ट्रिय सेवा दल विधेयक, २०६३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।