बुधबार, २० श्रावण, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्‍तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, २० घण्टा पहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्‍तो छ कार्यसूची

२०८३ साउन १९, काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

यसअघि दुई साता स्थगित भई गत साउन १४ गते बसेको बैठक पुनः ५ दिनका लागि स्थगित भएको थियो । लामो विरामपछि आज बस्न लागेको बैठकमा नेपाली कांग्रेसका सांसद एवं संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पेस गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुनेछ ।

सांसद आङ्देम्बेले वास्तविक भूमिहीन तथा सुकुमवासीको पहिचान गरी उनीहरूको सुरक्षित आवास, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको निरन्तरता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

साथै, उनीहरूलाई उचित क्षतिपूर्तिसहित स्थायी पुनःस्थापना गर्न र यथाशीघ्र लालपूर्जा वितरणको व्यवस्था मिलाउन प्रस्तावमा माग गरिएको छ। उक्त प्रस्तावको समर्थकमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहेका छन् ।

यस्तै, आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

advertisement_1676998982.gif
अन्य समाचार