सोमबार, १ मंसिर, २०८३

प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर, पाँच संयोजक र पाँच उपसंयोजक तोकिए

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर, पाँच संयोजक र पाँच उपसंयोजक तोकिए

२०८३ कार्तिक २९ काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सचिवालय सदस्यहरूको जिम्मेवारीमा फेरबदल गरेका छन् । सहसचिव सरहका सचिवालय सदस्यहरूको कार्यसम्पादनलाई आधार मान्दै प्रधानमन्त्री शाहले नयाँ जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

उनले पाँच जनालाई विभिन्न क्षेत्रका संयोजक र पाँच जनालाई उपसंयोजक तोकेका छन् । नयाँ जिम्मेवारीअनुसार सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजकको जिम्मेवारी दिइएको छ ।

सन्तोष गिरीले अन्तर निकाय समन्वय संयोजकको जिम्मेवारी पाएका छन् । यसअघि उनीहरूले क्रमशः विकास परियोजना र कार्यक्रम तथा भ्रमण समन्वयको जिम्मा सम्हाल्दै आएका थिए ।

त्यस्तै, यसअघि उपसचिव सरहको सचिवालय सदस्यका रूपमा कार्यरत विशाल अधिकारीको पदोन्नति गर्दै सहसचिव सरहको सरकारी मामिला तथा योजना समन्वय संयोजक बनाइएको छ ।

यसअघि प्रेस तथा अनुसन्धान विज्ञको जिम्मेवारी पाएकी दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक तोकिएको छ भने यसपटक छुट्टै अनुसन्धान विज्ञको पद राखिएको छैन । विश्व राईले भने सामाजिक विकाससम्बन्धी विषयलाई निरन्तरता दिँदै सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी पाएका छन् ।

यसैगरी, पाँच जनालाई उपसचिव सरहको सेवा सुविधा पाउने गरी विभिन्न क्षेत्रका उपसंयोजकको जिम्मेवारी तोकिएको छ । जसमा सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय, प्रकृति ढकाललाई स्वास्थ्य समन्वय, विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय र दिपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययन उपसंयोजकको जिम्मेवारी दिइएको छ ।

यसअघि सूचना प्रविधि विज्ञका रूपमा सहसचिव सरहको सेवा सुविधा पाउने गरी नियुक्त गरिएका सचिवालय सदस्य माधव खनाललाई भने सचिवालयबाट हटाइएको छ। हाल उनको नाम प्रधानमन्त्रीको सचिवालय सदस्यको सूचीमा छैन ।

सचिवालयका उच्च तहका अन्य पदाधिकारीहरू भने यथावत् रहेका छन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा कुमार व्यञ्जनकार (बेन) कायम छन् भने राजनीतिक सल्लाहकारमा असिम शाह यथावत् छन् । त्यस्तै, मन्त्री सरहकै स्वास्थ्य सल्लाहकारमा प्राडा जगदीशप्रसाद अग्रवाल कार्यरत रहेका छन् ।

advertisement_1676553851.gif