राष्ट्रिय सन्देश संबाददाता, १९ घण्टा पहिले
२०८३ कार्तिक १४ काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले छिट्टै चीन भ्रमण गर्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । पार्टी केन्द्रीय मुख्यालयमा शनिबार बसेको सचिवालय बैठकमा उक्त चीन भ्रमणका विविध पक्षबारे विस्तृत छलफल भएको थियो ।
‘महामन्त्री विपिन आचार्यको नेतृत्वमा केही सदस्यहरूसहितको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमण हुँदै छ,’ खरेलले भने । उनले भ्रमणको निश्चित मिति र प्रतिनिधिमण्डलमा सहभागी हुने अन्य नेताहरूको नाम भने खुलाएनन् । भ्रमणका क्रममा हुने भेटवार्ता तथा छलफलका विषयबारे पनि विस्तृत जानकारी दिइएको छैन ।
यसैबीच, सचिवालय बैठकमा मधेस प्रदेश तथा विभिन्न जिल्लामा हुन नसकेका पार्टी अधिवेशनका विषयमा समेत छलफल भएको छ ।
यसैगरी, बैठकमा मधेस प्रदेशका साथै विभिन्न जिल्लामा देखिएका साङ्गठनिक समस्या तथा ‘मधेस अडिट’ का सम्बन्धमा सह-महामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन पेस गरिएको छ । प्रवक्ता खरेलका अनुसार कार्यदलको प्रतिवेदनमाथि आवश्यक अध्ययन गरी पार्टीले आगामी सांगठनिक कदम तथा रणनीति तय गर्ने निर्णय गरेको छ ।