राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ साउन २७, काठमाडौँ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको अभावप्रति राष्ट्रिय सभाले सरकारको ध्यानाकर्षण गराउँदै उपभोक्तालाई नियमित र सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था गर्न आग्रह गरेको छ ।
सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले ग्यासको आयात तथा बिक्री वितरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई विभिन्न सुझाव दिएका हुन् ।
बजारमा देखिएको अभावबारे जनस्तरबाट समेत निरन्तर गुनासो आइरहेको उल्लेख गर्दै सभाध्यक्ष नारायणप्रसाद दाहालले आपूर्ति तथा वितरण प्रणाली सहज बनाउन आवश्यक व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसकी सांसद कमलादेवी पन्तले भारतबाट मागभन्दा बढी ग्यास आयात भइरहेको सरकारको दाबी रहे तापनि जनताले सहजै ग्यास पाउन नसकेको विषय प्रस्तुत गरिन्। पन्तले ग्यासको वास्तविक आपूर्ति र बिक्री वितरणको अवस्थाबारे राष्ट्रियसभालाई स्पष्ट जानकारी गराउन सरकारसमक्ष मागसमेत गरिन्।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले ग्यासको अभावका कारण सर्वसाधारणले ठूलो कष्ट व्यहोरिरहेको उल्लेख गर्दै उक्त समस्याको अविलम्ब समाधानतर्फ ध्यान दिन आग्रह गरे ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित बनाउन सुझाव दिँदै जनताका दैनिक समस्या समाधानमा गम्भीर बन्न सरकारसँग आग्रह गरे । कांग्रेसका सांसद युवराज शर्माले बजारमा सिर्जना गरिएको एलपी ग्यासको कृत्रिम अभाव तत्काल अन्त्य गरी बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन माग गरे।
सोही पार्टीका सांसद नारायणदत्त मिश्रले सुनसरीको देवागञ्जमा दुई समुदायबीच भएको विवादसम्बन्धी घटनाको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरे ।
नेकपाका सांसद भुवनबहादुर सुनारले खाना पकाउने ग्यासको अभावसम्बन्धी समस्याको दीर्घकालीन व्यवस्थापन गर्न, बजार महँगी नियन्त्रण गर्न र सार्वजनिक सेवा प्रवाहलाई चुस्त-दुरुस्त बनाउन सरकारलाई सुझाव दिए ।
सोही पार्टीकी सांसद मदनकुमारी शाह (गरिमा) ले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता र वाचाहरू पूरा गर्नेतर्फ सरकारको ध्यान पछाडि पर्न नहुने बताइन् ।
बैठकमा राष्ट्रिय सभा सदस्य पदम परियारले पछिल्ला करिब तीन सातादेखि काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको अभाव गम्भीर बनेको बताए । ग्यास खरिदका लागि उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले अभावका कारण नागरिकहरू व्यक्तिगत पहुँच र सिफारिसको सहारा लिनुपर्ने अवस्थामा पुगेको विषय पनि संसद्मा उठाए ।
उनका अनुसार जिल्लामा रहेका नागरिकहरूले सांसदहरूलाई टेलिफोन गरेर ग्यास सिलिन्डर उपलब्ध गराउन सहयोग माग्ने गरेका छन् । बजारमा नियमित बिक्री प्रणालीबाट आवश्यक परिमाणमा ग्यास नपाएपछि उपभोक्ताले जनप्रतिनिधिमार्फत पहुँच खोज्न थालेको उनको भनाइ थियो ।
ग्यासजस्तो दैनिक उपभोग्य अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको समस्यालाई तत्काल सम्बोधन गरी बजारमा नियमित उपलब्धता सुनिश्चित गर्नुपर्ने विषय बैठकमा प्रमुखताका साथ उठाइएको छ ।