राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ असार २६, काभ्रेपलाञ्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई आएका विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकहरू बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रमाणीकरण भएका विधेयकहरूमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ रहेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी प्रेस विज्ञप्तिअनुसार संघीय संसद्को बैठकबाट पारित भएका यी विधेयकहरू बिहीबार नै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएका थिए ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब यी चारवटै नयाँ कानुन परिमार्जित रूपमा लागू हुने मार्गप्रशस्त भएको छ ।