बुधबार, २० जेष्ठ, २०८३

रवि लामिछाने र नरेन्द्र मोदीबिच आज भेटवार्ता हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

रवि लामिछाने र नरेन्द्र मोदीबिच आज भेटवार्ता हुँदै

२०८३ जेष्ठ २०, काठमाडौं । पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।

नयाँ दिल्लीमा जारी राजनीतिक सक्रियताका क्रममा आज प्रधानमन्त्री मोदीसँग द्विपक्षीय हीतका विषयमा संवाद हुन लागेको हो ।

प्रधानमन्त्री मोदीसँगको भेटवार्तालगत्तै सभापति लामिछाने उत्तर प्रदेशको अयोध्या प्रस्थान गर्ने र त्यहाँस्थित ऐतिहासिक राममन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं सांसद विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख एवं सांसद दीपक बोहोरा, र स्वकीय सचिव अविनाश आचार्य (प्रदीप) सामेल छन् । यो टोली आगामी जेठ २२ गते स्वदेश फर्किने तालिका रहेको छ ।

सोमबार नयाँ दिल्ली पुगेका सभापति लामिछानेले मंगलबारदेखि नै सघन राजनीतिक भेटघाट सुरु गरेका थिए । सोही क्रममा हिजो उनले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भेटको तस्बिर सार्वजनिक गर्दै नेपाल-भारत विकास साझेदारी, जनस्तरको सम्बन्ध तथा दुई देशबीचको साझा विकास र समृद्धिलाई प्रवर्द्धन गर्ने विषयमा फलदायी छलफल भएको जानकारी दिएका छन् ।

मंगलबार नै लामिछाने नेतृत्वको टोलीले भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय मुख्यालयको भ्रमण गरी शीर्ष नेतृत्वसँग छलफल गरेको थियो ।

रास्वपा टोलीलाई भाजपाका वरिष्ठ नेता नीतिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले, र सांसदद्वय सञ्जय जयसवाल तथा बाँसुरी स्वराज लगायतले भव्य स्वागत गरेका थिए ।

भाजपा विदेश विभागद्वारा जारी विज्ञप्तिअनुसार उक्त भेटमा विशेष गरी राजनीतिमा ‘जेन-जेड’ अर्थात् नयाँ युवा पुस्ताको बढ्दो भूमिका र सम्भावनामाथि केन्द्रित रहेर छलफल भएको थियो । दुवै पक्षबीच लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस र भावी नेतृत्व निर्माणमा युवाहरूको योगदानबारे विस्तृत विचार आदानप्रदान भएको छ ।

भेटका क्रममा भाजपा नेता नीतिन नवीनले नेपाल र भारतबीचको साझा सभ्यता, सांस्कृतिक सम्बन्ध र जनस्तरको सुदृढ ऐतिहासिक सम्बन्धमाथि प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा रास्वपा प्रतिनिधिमण्डलले भाजपाको सदस्यता वितरण प्रक्रिया, उम्मेदवार छनोट प्रणाली, र तल्लो तहका कार्यकर्ताहरूसँग सम्पर्क विस्तार गर्ने सांगठनिक संयन्त्रबारे विशेष चासो राखेको थियो ।

जवाफमा भाजपा नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विकास, सेवा, सुशासन र जनकल्याणलाई केन्द्रमा राखेर अघि बढाइएको विकासमुखी सुशासन मोडेलबारे नेपाली टोलीलाई जानकारी गराएका थिए। भ्रमणका क्रममा रास्वपा टोलीले भाजपा मुख्यालयमा रहेको अत्याधुनिक मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो ।

राजनीतिक संवादपछि आयोजित दिवाभोजमा दिल्लीकी नेता रेखा गुप्ता लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । भाजपाले यो अन्तर्क्रियाले दुई दलबीचको सम्बन्धलाई थप गहिरो र लोकतान्त्रिक संवादलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

advertisement_1676553908.gif