राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ जेष्ठ १७, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल-भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
आइतबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारततर्फको केही भूभागमा सीमा सम्बन्धी विवाद रहेको आफूले हालै जानकारी पाएको टिप्पणी गरेका थिए । सोही अभिव्यक्तिलाई लिएर काँग्रेसले गम्भीर प्रश्न उठाएको हो ।
काँग्रेसकी सचेतक वासना थापाले प्रधानमन्त्रीको उक्त भनाइ तथ्यगत रूपमा पुष्टि हुनुपर्ने आवश्यकता रहेको बताइन् । उनका अनुसार दुई देशबीचको संवेदनशील सीमा विषयमा स्पष्ट प्रमाणबिना सार्वजनिक अभिव्यक्ति दिनु उचित नहुने टिप्पणी गरिएको छ ।
उनले सीमा अतिक्रमणसम्बन्धी दाबी वास्तविक हो भने त्यसका प्रमाण सार्वजनिक गर्न सरकारलाई आग्रह गरेकी छन् । प्रमाण प्रस्तुत गर्न नसके उक्त अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाइनुपर्ने माग पनि उनले राखिन् ।
काँग्रेसले सीमासम्बन्धी विषयलाई कूटनीतिक र तथ्यपरक आधारमा मात्र अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीको भनाइप्रति औपचारिक असन्तुष्टि जनाएको छ ।