आईतवार, २५ आश्विन, २०८३

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

२०८३ असोज २५ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा पेस गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकनसहित नयाँ बजेट प्रस्तुत गरिएको हो ।

आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आज प्रदेशसभा बैठकमा ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । यो अघिल्लो सरकारले प्रस्तुत गरेको आकारअनुसार नै रहेको छ ।

बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक  अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

यस्तै, संघीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने नौ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने छ अर्ब तीन करोड ५८ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ ।

चालु अािर्थक बर्षको बजेटमा प्रदेश सरकारले कृषि, रैथानेवाली संरक्षण, जलवायु परिवर्तनबाट हुने असर न्युनीकरण कार्यक्रम, भौतिक पूर्वाधार विस्ता लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । सरकारले धार्मिक तथा पर्यटकिय क्षेत्र वडीमालिका, खप्तड लगायत क्षेत्रमा सडक पूर्वाधार, विद्युत विस्तार, केवलकार निर्माण गर्ने लगायतका योजना अघि सारको छ ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि उक्त बजेट पारित हुन सकेन । सोही असार २९ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

करिब दुई महिनासम्म प्रदेशमा बजेट शून्यताको अवस्थामा रहेकामा आजबाट त्यो अन्योल हटेको छ । आजको अर्को बैठक ३० मिनेटपछि बस्ने सभामुख भण्डारीले सभालाई जानकारी गराए ।

advertisement_1676551646.gif