राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८३ साउन १९, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे ।
साथै, उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
भेटका क्रममा सांसदहरूले सुदूरपश्चिमको समग्र राजनीतिक अवस्था, विद्यमान समस्या र सम्भावनाबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । उनीहरूले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी-खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण र सडक दुर्घटना न्यूनीकरणका विषयमा छलफल गरे ।
त्यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, हुलाकी सडक, दोधारा–चाँदनी क्षेत्रमा नदी कटान र तटबन्ध निर्माणजस्ता महत्त्वपूर्ण आयोजना शीघ्र अघि बढाउन उनीहरूले आग्रह गरे । भन्सारसम्बन्धी समस्या, आरक्षपीडितका माग, किसानका लागि धान खरिद–बिक्रीको सहज व्यवस्थापनलगायतका विषयमा पनि सांसदहरूले प्रधानमन्त्रीसमक्ष आफ्ना कुरा राखेका थिए ।
भेटवार्तामा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको थियो ।