राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ असार ३१, काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका सबै काम रोक्न आदेश दिएको हो ।
यसअघि गत शुक्रबार नै सर्वोच्चले आयोगका कामकारबाही रोक्न अन्तरिम आदेश जारी गरेको थियो । तर, उक्त आदेशको अवज्ञा गर्दै आयोगले पूर्वन्यायाधीश, पूर्वसैन्याधिकारी र संवैधानिक आयोगका पूर्वपदाधिकारीबाहेक अन्यको सम्पत्ति छानबिन गर्ने कार्यलाई निरन्तरता दिने भनी सूचना जारी गरेको थियो ।
आयोगको उक्त कदम अदालतको अवहेलना भएको भन्दै अधिवक्ता मनीराम उपाध्यायले रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश निरौलाको इजलासले आयोगद्वारा जारी उक्त सूचना कार्यान्वयन नगर्न र आयोगका सबै काम रोक्न पुनः अन्तरिम आदेश जारी गरेको हो ।