राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ चैत्र, २०८२
२०८२ चैत्र २९, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक सम्पत्ति विवरण अनुसार शिक्षामन्त्री सस्मित पोखरेलको ठाउँ-ठाउँमा जमिन रहेको छ । उनले आफूहरूकफ पेशबाट जोडेको सम्पत्तिबाट काठमाडौंमा २ घर र ५ ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन् ।
आमा मिनाक्षी ओझाको नाममा काठमाडौं वडा नम्बर ४ मा ४ करोड मूल्य पर्ने घर, कागेश्वरी मनोहरामा आमाकै नाममा ५ करोड मूल्यको अर्को घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । बुवाको पारिश्रमिक र पैत्रिक सम्पत्तिबाट घर निर्माण भएको उनले बताएका छन् ।
पोखेलसँग काठमाडौं, ललितपुर, मोरङ तीन जिल्लाका ५ स्थानमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ती सबै जग्गा बुवा रमेशकुमार पोखरेल र आमा मिनाक्षीको नाममा छन्। सबै जग्गाको हालको मूल्य कुल ११ करोड ५० लाख रहेको बताइएको छ ।
पोखरेलसँग् अनुमानित ७५ लाख मूल्यको २५ तोला सुन र १०० तोला चाँदी रहेको छ । उनले आफ्ना तीन वटा बैंकमा साढे ४ लाख रुपैयाँ वचत रहेको उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा विभिन्न कम्पनीको झण्डै १ करोड ८० लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख छ ।
पोखरेलले दुईवटा बैंकमा गरी ७५ लाख रुपैयाँ कर्जा रहेको बताएका छन् । उनीसँग ७० लाख रुपैयाँको विद्युतीय सवारी र ४० लाखको बीवाईडी डल्फिन कार छ ।