राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८३ साउन १५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा बढ्दै गएको सामाजिक तथा धार्मिक संवेदनशीलतालाई ध्यानमा राख्दै पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग परामर्श गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार प्रथम पूर्वराष्ट्रपति डा. यादव र प्रथम पूर्वउपराष्ट्रपति झालाई शीतल निवासमा बोलाएर तराई-मधेसमा देखिएको पछिल्लो परिस्थितिबारे छलफल गरेका हुन् ।
विशेष गरी सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज लगायत तराई-मधेसका विभिन्न जिल्लाहरूमा देखिएको तनावपूर्ण र विषम स्थितिप्रति भेटघाटमा गम्भीर चिन्ता व्यक्त गरिएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले सदियौँदेखि नेपाली समाजमा कायम रहँदै आएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै पक्षले जिम्मेवार भएर पहल गर्नुपर्नेमा जोड दिए ।
भेटका क्रममा प्रथम पूर्वराष्ट्रपति डा. रामवरण यादवले तराई-मधेसमा उत्पन्न विषम परिस्थिति नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकलाई विश्वासमा लिएर यो समस्याको तत्काल समाधान खोज्न सरकारसँग पर्याप्त क्षमता र तत्परता हुनुपर्ने धारणा राखेका थिए ।