मंगलवार, १२ जेष्ठ, २०८३

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०८३ जेष्ठ ११, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार देउवा दम्पतीलाई पक्राउ नगर्न यस्तो आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण (गैरकानुनी रूपमा सम्पत्ति आर्जन) को कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको थियो। उक्त पक्राउ पुर्जीविरुद्ध देउवा दम्पतीका तर्फबाट सर्वोच्चमा रिट दायर गरिएको थियो।

सर्वोच्च अदालतले गत वैशाख १८ गते जारी भएको अध्यादेशको कानुनी व्यवस्थालाई उल्लेख गर्दै सम्पत्ति शुद्धीकरण विभागले गर्ने अनुसन्धान र मुद्दाको क्षेत्राधिकार विशेष अदालतको मात्रै हुने स्पष्ट पारेको छ। क्षेत्राधिकार नै नभएको काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको भन्दै सर्वोच्चले उक्त पूर्जी तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

केही समयअघि चर्किएको 'जेनजी (GenZ) आन्दोलन'का क्रममा देउवा र आरजुमाथि कुटपिटको प्रयास भएको थियो। सोही आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी समेत भएको थियो। आगजनी र तोडफोड नियन्त्रणमा लिने क्रममा देउवा निवासभित्र ठुलो मात्रामा जलेका नोटहरू फेला परेका थिए।उक्त विषय सार्वजनिक भएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा निवास पुगेर मुचुल्का उठाएको थियो र अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।

यसैबिच, पक्राउ पुर्जी जारी भएपछि विभागले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्ने प्रक्रियासमेत अगाडि बढाएको थियो। तर, इन्टरपोलले हालसम्म उक्त नोटिस जारी गरिसकेको छैन। देउवा दम्पती हाल विदेशमा (हङकङ) रहेका छन्।

सर्वोच्चमा दायर रिटमा देउवाले आफू अनुसन्धानमा सहयोग गर्न र सम्पत्तिको स्रोत देखाउन तयार रहेको भन्दै पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका थिए। सर्वोच्चको यो आदेशसँगै जिल्ला अदालतको पक्राउ पुर्जी तत्कालका लागि निष्क्रिय भएको छ।

advertisement_1676551646.gif