बिहीबार, २८ फाल्गुन, २०८२

धनुषा-१ मा किशोरी साहको नाम कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

धनुषा-१ मा किशोरी साहको नाम कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश

२०८२ फागुन २८, काठमाडौं । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले साहको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारबाट हटाउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न कारण देखाऊसहित अन्तरिम आदेश दिएको हो ।

साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेको थियो । त्यहीकारण उनको उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो। सर्वोच्च अदालतले कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्र र नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश दिएको छ ।

निर्वाचन आयोगले किशोरी शाहको उम्मेदवारी खारेज गरेर नेकपाका मातृका यादवलाई आज बिहान विजयी घोषणा गरेको थियो ।

साहले गत फागुन १९ गते दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार उनको नाम उम्मेदवारको सूचीबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।

advertisement_1676551694.gif