राष्ट्रिय सन्देश संबाददाता, ११ घण्टा पहिले
२०८३ साउन १९, काठमाडौँ । नेपाल सरकारले विभिन्न २१ मुलुक तथा कूटनीतिक नियोगहरूमा रिक्त र कार्यकाल सकिन लागेका पदहरूमा राजदूत नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार रिक्त रहेका १६ दूतावास तथा चार वर्षे कार्यकाल पूरा गरी म्याद थपेर कार्यरत रहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्रसंघीय नियोग भियनासहित २१ नियोगमा आगामी दुई हप्ताभित्र राजदूत नियुक्ति प्रक्रिया अघि बढाउन लागिएको हो ।
नेपालका हाल विदेशस्थित २८ वटा राजदूतावास, संयुक्त राष्ट्रसङ्घका लागि तीन वटा स्थायी मिसन (न्यूयोर्क, जेनेभा र भियना) तथा आठ वटा महावाणिज्य दूतावास गरी कुल ३९ वटा कूटनीतिक मिसनहरू रहेका छन् ।
यीमध्ये हाल १५ मुलुक तथा नियोगमा मात्र राजदूत कार्यरत छन् भने अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलङ्का, बेलायत, अमेरिका र स्पेन गरी १६ मुलुकमा राजदूत पद रिक्त रहेको मन्त्रालयको तथ्यांक छ ।
सरकारले यसै आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कमा रहेका तीन वटा राजदूतावास भने बन्द गर्ने निर्णय गरिसकेको छ । परराष्ट्र मन्त्रालयका अनुसार इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट राजदूत नियुक्त गर्न लागिएको हो ।
हाल प्राप्त भएका खुला आवेदनहरूको अध्ययन भइरहेको र तिनै आवेदनहरूबाट योग्य उम्मेदवार छनोट गरी राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सरकारको योजना छ ।