राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ साउन ०१, काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल २५ दिनको थुनामुक्त भई साधारण तारेखमा छुटेका छन् । विशेष अदालतले शुक्रबार (आज) उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
गत असार ८ गते पार्टीको एउटा कार्यक्रमको सिलसिलामा सुर्खेत पुगेका बेला पौडेललाई प्रहरीले अनायासै पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनलाई हायस गाडीमा राखेर काठमाडौं ल्याइएको थियो ।
पौडेल पक्राउ परेपछि उनको परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराए पनि अदालतबाट उनको पक्षमा निर्णय आउन सकेको थिएन । महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको मुद्दामाथि भएको थुनछेक बहसपछि विशेष अदालतले अभियोगमा पर्याप्त प्रमाण नपुगेको भन्दै उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।
अदालतको आदेश लगत्तै आगामी साउन २८ गतेको तारेख बुझेर पौडेल कारागारबाट बाहिरिएका छन् । उनलाई लिन परिवारका एक सदस्य र एमाले नेता विष्णु रिजाल अदालत पुगेका थिए । रिहाइपछि पौडेल नेता रिजाल र परिवारका सदस्यसँगै गा आफ्नो निवासतर्फ लागेका थिए ।