आईतवार, २४ जेष्ठ, २०८३

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

२०८३ जेष्ठ २३, नेपालगन्ज । नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार सम्मेलनमा विभिन्न विषयगत नौ वटा सत्र सञ्चालन हुनेछन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिने बताए । विभिन्न क्षेत्रका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको उनले जानकारी दिए ।

नेपालगन्जलाई प्रविधिको केन्द्रको हबका रूपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा राखिएको उपकुलपति ढकालको भनाइ छ । विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक रेगबहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालयबीचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताए ।

advertisement_1676553908.gif