बिहीबार, ६ कार्तिक, २०८३

साइबर सुरक्षा जोखिमका कारण केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द, समाधानका लागि प्राविधिक टोली खटिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

साइबर सुरक्षा जोखिमका कारण केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द, समाधानका लागि प्राविधिक टोली खटिँदै

२०८३ कार्तिक ०५ काठमाडौँ ।  विश्वभर प्रयोगमा रहेको लोकप्रिय वेब प्रविधि PHP मा "PHP2Shell" नामक अत्यन्तै गम्भीर सुरक्षा जोखिम (CVE-2026-109618 र CVE-2026-109619) पहिचान भएपछि नेपालका केही सरकारी वेबसाइट तथा डिजिटल प्रणालीहरू पनि प्रभावित भएका छन् ।

CVSS अंक ९.२ (Critical) दिइएको यस गम्भीर जोखिमका कारण अनधिकृत आक्रमणकारीहरूले लगइन नगरीकनै सर्भरमा पहुँच बनाएर आन्तरिक कोड सञ्चालन (Remote Code Execution) गर्न सक्ने खतरा देखिएको छ । यसबाट हुन सक्ने सम्भावित क्षति र डेटा चोरीलाई रोक्न पूर्वसावधानी स्वरूप केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरूलाई अस्थायी रूपमा बन्द गरिएको छ ।

बडादशैंको सार्वजनिक बिदाको समयमा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (SDOC) का प्राविधिकहरू तथा अन्य सम्बद्ध सुरक्षा टोलीहरू उच्च सतर्कताका साथ निरन्तर काममा खटिएका छन् । टोलीले हाल प्रणालीहरूमा आवश्यक सुरक्षा प्याच (Security Patch) राख्ने, प्राविधिक परीक्षण गर्ने र जोखिम नियन्त्रण गर्ने कार्य गरिरहेको छ ।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सम्पूर्ण सुरक्षा परीक्षण र प्याचिङको कार्य सम्पन्न हुनासाथ बन्द गरिएका सरकारी सेवा तथा वेबसाइटहरू क्रमशः पुनः सञ्चालनमा ल्याइनेछ।वेबसाइट तथा अनलाइन सेवामा आएको यस अस्थायी अवरोधका कारण सर्वसाधारणलाई पर्न गएको असुविधाप्रति केन्द्रले क्षमाप्रार्थी हुँदै धैर्यताधारण गरिदिन अनुरोध गरेको छ ।

advertisement_1676551694.gif