सोमबार, १ मंसिर, २०८३

ऐतिहासिक त्रिपक्षीय शिखर वार्ता : ट्रम्प, सी र पुटिन एउटै टेबलमा बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २९ कार्तिक, २०८३

ऐतिहासिक त्रिपक्षीय शिखर वार्ता : ट्रम्प, सी र पुटिन एउटै टेबलमा बस्दै

२०८३ कार्तिक २८ काठमाडौँ । विश्व राजनीतिमा एक दुर्लभ र ऐतिहासिक घटनाक्रमका रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक त्रिपक्षीय भेटवार्ता हुने भएको छ।

ह्वाइट हाउसले पुष्टि गरेअनुसार अर्को हप्ता चीनमा आयोजना हुन लागेको एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा विश्वका तीन शक्तिशाली राष्ट्रप्रमुखहरू एउटै टेबलमा बस्न लागेका हुन्।यस भेटवार्ताको मुख्य एजेन्डा विश्वमा बढ्दो आणविक हतियारको होडबाजी रोक्ने र अस्त्र भण्डार घटाउने रहेको छ।

गत फेब्रुअरीमा अमेरिका र रुसबीचको 'न्यु स्टार्ट' आणविक सन्धिको म्याद सकिएपछि विश्वमा आणविक हतियार नियन्त्रणको कानुनी संरचना रिक्त बनेको छ। अर्कोतर्फ, चीनले आफ्नो आणविक क्षमता तीव्र गतिमा विस्तार गरिरहेकाले विश्व सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषकहरू बताउँछन्। ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सका अनुसार राष्ट्रपति ट्रम्पले आणविक अस्त्रको विस्तारलाई निकै खतरनाक मान्दै यसलाई नियन्त्रण गर्न ठोस संवाद थाल्न चाहनुभएको हो।

विश्वका झण्डै ९० प्रतिशत आणविक हतियार ओगट्ने यी तीन महाशक्तिबीचको यो संवादलाई आगामी दिनमा फलदायी सहमतिको ढोका खोल्ने प्रारम्भिक चरणका रूपमा हेरिएको छ। उच्चस्तरीय यस बैठकमा आणविक सुरक्षासँगै इरानको पछिल्लो अवस्था र मध्यपूर्वमा जारी तनावबारे पनि गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

advertisement_1676553851.gif