राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २१ कार्तिक, २०८१
काठमाडौं, कार्तिक २१ । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकनपार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । उनी अमेरिकाको राष्ट्रपतिमा दोश्रो पटक निर्वाचित भएका हुन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार हालकि उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने पक्का भएको छ । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ । १० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको बताइएको छ ।
यो सँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । जबकि राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ । जित सुनिश्चित भएपछि उनले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन् । उनले अमेरिकाको हितमा काम गर्ने बताएका छन्। 'यो अमेरिकी जनताको शानदार जित हो । यसले अमेरिकालाई अझ सक्षम बनाउन मद्धत गर्नेछ । यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ ।
उनले अभूतपूर्व विजयी गराउने अमेरिकी नागरिकहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । आफू यही दिनका लागि हत्या प्रयासबाट बचेको उनको भनाइ छ। चुनावी र्यालीमा सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । गोली उनको कानलाई छुँदै गएपछि उनी बाँच्न सफल भएका थिए।