राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ असार १3, काठमाडौं । भेनेजुएलामा बुधबार आएको विनाशकारी भूकम्पका कारण अहिलेसम्म ९२० जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३ हजार ३ सय ६० भन्दा बढी मानिस घाइते भएका छन् ।
विशेष गरी ला गुएरा क्षेत्रमा ठूलो क्षति पुगेको छ, जहाँ देशको मुख्य विमानस्थल र बन्दरगाहसमेत अवस्थित छन्। भग्नावशेषमुनि आफ्ना आफन्तहरू फसेका परिवारहरू यति बेला अत्यन्तै छटपटी र पर्खाइमा छन् ।
विगत लामो समयदेखि आर्थिक संकट झेल्दै आएको भेनेजुएलाको स्वास्थ्य प्रणाली यो विपद्पछि पूर्ण रूपमा अस्तव्यस्त भएको छ । स्थानीय चिकित्सकहरूका अनुसार अस्पतालहरूमा औषधि र अत्यावश्यक स्वास्थ्य सामग्रीको चरम अभाव छ, जसका कारण घाइतेहरूको उपचार अस्थायी शिविरहरूमा गर्नुपर्ने बाध्यता छ ।
यसैबीच, बेलायत, अमेरिका, मेक्सिको र नेदरल्याण्ड्स लगायतका देशहरूबाट तालिमप्राप्त कुकुर, ड्रोन र विशेषज्ञसहितका अन्तर्राष्ट्रिय उद्धार टोलीहरू भेनिजुएला पुग्न थालेका छन् । अमेरिकाले १५ करोड डलर सहायताका साथै युद्ध पोत र ढुवानी विमानहरू परिचालन गर्ने घोषणा गरेको छ ।
संकटको यस घडीमा प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ, जहाँ सयौँ स्थानीय स्वयंसेवकहरूका साथै विपक्षी नेतृ मारिया कोरिना माचाडोको दलले पनि राहत संकलन र वितरण अभियान सञ्चालन गरिरहेको छ । विपद्को यस समयमा अन्तर्राष्ट्रिय समुदायले भेनेजुएलालाई ठूलो मानवीय र प्राविधिक सहयोग उपलब्ध गराइरहेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रसंघले भेनेजुएला सरकारसँग समन्वय गरेर आपत्कालीन सहायता पुर्याइरहेको बताएका छन् ।
युरोपबाट पनि सहयोगको हात बढाउँदै फ्रान्सले राष्ट्रपति इमानुएल म्याक्रोँको निर्देशनमा चिकित्सक, खोजी कुकुर र विशेषज्ञसहितको विशेष टोली पठाएको छ भने स्विट्जरल्यान्डले पनि ८० जना विशेषज्ञ र १८ टन उद्धार सामग्रीसहितको ‘स्विस रेस्क्यु चेन’ टोली काराकासतर्फ परिचालन गरेको छ ।
प्रभावित क्षेत्रमा अझै हजारौँ मानिस बेपत्ता रहेको आशङ्का गरिएकाले उद्धारकर्मीहरूले निरन्तर भग्नावशेष हटाउने कार्य जारी राखेका छन् ।