राष्ट्रिय सन्देश संबाददाता, २३ घण्टा पहिले
२०८३ भदौ १४ काठमाडौँ । नेपालका विभिन्न भागमा आएको विनाशकारी बाढी र पहिरोपछिको उद्धार तथा राहत कार्यका लागि चीन सरकारले ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला ट्रान्सपोर्ट विमानमार्फत आइतबार बिहान चिनियाँ शहर छङ्दुबाट ल्याइएका ती सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका ती दुई विमानमार्फत ५० टन तौल बराबरका कुल १३ हजार २०० थान राहत सामग्री नेपाल ल्याइएको छ, जसमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, तयारी खाना/बिस्कुट र प्राथमिक उपचार किटहरू समावेश छन् ।
राहत सामग्रीका साथै आवश्यक आधुनिक उद्धार उपकरणसहित चार जना चिनियाँ सुरुङ (टनेल) उद्धार विशेषज्ञको टोली पनि काठमाडौँ आइपुगेको छ । चीन र नेपालको सीमा क्षेत्रसहित देशभरीका प्रभावित नागरिकलाई तत्काल सहायता पुर्याउन यो सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।