राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ जेष्ठ २५, काठमाडौं । सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार यो भूकम्प फिलिपिन्सको बुरियास सहरबाट लगभग २५ किलोमिटर पश्चिम-दक्षिणपश्चिम क्षेत्रमा स्थानीय समय अनुसार सोमबार बिहान ७:३७ बजे गएको हो । यो भूकम्प सन् १९९० यता फिलिपिन्समा महसुस गरिएको सबैभन्दा शक्तिशाली धक्कामध्ये एक भएको बताइएको छ ।
जर्मन अनुसन्धान केन्द्र फर जियोसाइन्सेस (जीएफजेड) का अनुसार भूकम्पको गहिराइ कम रहेकाले सतहमा यसको शक्तिशाली कम्पन महसुस हुनुका साथै सुनामीको जोखिम निकै बढेको छ । भूकम्पका कारण मिन्डानाओ क्षेत्रका जनरल सान्तोस सिटी र आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणहरूले देखाएका छन् ।
स्थानीय प्रहरीका अनुसार अहिलेसम्म कम्तीमा एक जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन् भने जेनेरल सान्तोस लगायतका सहरमा कयौँ घर र व्यावसायिक भवनहरू भत्किएका छन् ।
भूकम्पको धक्का कतिपय क्षेत्रमा यति तीव्र थियो कि स्थानीय सुरक्षा अधिकारीहरूले यसलाई आफ्नो जीवनकालकै सबैभन्दा शक्तिशाली महसुस भएको बताएका छन् । मुख्य भूकम्पपछि त्यस क्षेत्रमा ६.१ र ६.० म्याग्निच्युडका शक्तिशाली परकम्पहरू (आफ्टरशक्स) जाने क्रम जारी रहेकाले थप जोखिम बढाएको छ ।
यस शक्तिशाली भूकम्प लगत्तै फिलिपिन्स, इन्डोनेसिया, मलेसिया र जापानसहित प्रशान्त महासागरीय क्षेत्रका धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । अमेरिकी सुनामी चेतावनी प्रणाली र प्यासिफिक सुनामी वार्निङ सेन्टरले फिलिपिन्सका कतिपय तटीय क्षेत्रहरूमा ३ मिटर (१० फिट) सम्मको खतरनाक सुनामी छाल आउन सक्ने चेतावनी दिएका छन्।
त्यस्तै इन्डोनेसिया र मलेसियाका तटीय क्षेत्रहरूमा १ मिटर (३ फिट) सम्मका छालहरू आउन सक्ने सम्भावना औंल्याउँदै तटीय क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित र डामी स्थानतर्फ जान आग्रह गरिएको छ ।
फिलिपिन्स र इन्डोनेसियाका भूभौतिकी एजेन्सीहरूले उत्तरपूर्वी र दक्षिणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र समुद्री किनारबाट टाढै रहन निर्देशन जारी गरेका छन् ।