राष्ट्रिय सन्देश संबाददाता, २२ घण्टा पहिले
२०८२ फागुन १७, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन् । यो इरानका जनताका लागि मात्र नभई विश्वभरका ती देशका जनताका लागि पनि न्याय हो, जसलाई खामेनी र उनको रक्तपिपासु गिरोहले मारेका थिए ।’
इजरायलले शनिबार राजधानी तेहरानसहित इरानका धेरैवटा सहरमा हवाई हमला गरेको थियो । जसमा अमेरिकाको पनि संलग्नता रहेको ट्रम्पले बताएका थिए । रोयटर्सले पनि इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेता मारिएको दाबी गरेको छ । खामेनीको शव हवाई आक्रमणपछि भग्नावशेषमुनि फेला परेको थियो ।
खामेनीको मृत्युले युद्ध र आर्थिक कठिनाइबाट गुज्रिरहेको इरानलाई अर्को ठूलो झट्का दिएको छ। उनको शासनकालमा इरानले पश्चिमी देशहरूसँग कम टकराव चाहने सुधारवादीहरूलाई किनारा लगाउँदै कडा नीति अपनाएको थियो । अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इरानका सहयोगीहरू कमजोर बन्दै गएका थिए। डिसेम्बर २०२४ मा सिरियाली राष्ट्रपति बसर अल-असदको सत्ता पतन हुनुले पनि तेहरानलाई कमजोर बनाएको थियो ।
यद्यपि, इरानी अधिकारीहरूले मृत्युको रिपोर्टलाई अस्वीकार गर्दै यसलाई “शत्रुद्वारा गरिएको मनोवैज्ञानिक युद्ध” भनेका छन् । सर्वोच्च नेताको कार्यालयका प्रचार प्रमुख मेहरदाद सैयद मेहदीले सामाजिक सञ्जालमा लेखेका छन्, “अमेरिकी र जियोनिस्ट शत्रुहरूको मनोवैज्ञानिक युद्धबाट सावधान रहनुहोस् ।”
इरानको अर्ध-आधिकारिक तास्निम न्युज एजेन्सीले खामेनीले आत्मविश्वासका साथ युद्धको मैदानको निर्देशन दिइरहेको दाबी गरेको छ । तर, इरानी विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीसँगको अन्तर्वार्तामा प्रत्यक्ष जवाफ नदिई “हामी यस विषयमा पुष्टि गर्ने अवस्थामा छैनौँ” भनेका छन् । यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि खमेनीको मृत्यु भएको संकेत देखिएको बताएका थिए । अर्कातर्फ इरानका विदेशमन्त्री अब्बास अराघचीले भने सर्वोच्च नेता जीवित रहेको दाबी गरेका छन् ।
इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्ति मारिएको र ७४० भन्दा बढी घाइते भएको बताएको छ।
इजरायल र अमेरिकामा आधारित अपुष्ट रिपोर्टहरूमा उनी मारिएको दाबी गरिएको छ । तर इरानले भने इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता ‘सुरक्षित र स्वस्थ’ रहेको दाबी गरेका हुन् । इरानका सर्वोच्च नेताको कार्यालयका जनसम्पर्क प्रमुखले पनि खामेनी मारिएको भन्ने समाचार आएपछि त्यसलाई देशका शत्रुहरूको “मानसिक युद्ध”को संज्ञा दिएको एलजजिरा न्युज च्यानलले जनाएको छ ।