राष्ट्रिय सन्देश संबाददाता, १८ घण्टा पहिले
२०८२ फागुन १७, काठमाडौं । इरानले अमेरिकी र इजरायली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएकाे पुष्टि गरेको छ । आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए ।
यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनीकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी-इजरेली हमलामा परी खामेनेई मारिएका सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए । ट्रम्पले “इरानी जनता”, “अमेरिकी जनता” र “विश्वभरि धेरै मानिसका निम्ति” “न्याय” भएको भनी सामाजिक सञ्जालमा लेखेका छ न्।
उनले बमबारी “जारी रहने भन्दै “इरानी जनताका लागि “उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको” टिप्पणी गरेका छन् । अमेरिका र इजराइलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ। दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ ।
अमेरिका र इजरायलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन् । दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो । रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ ।
इजरायलसँग सीमा जोडिएको जोर्डनले उस्का सशस्त्र सैन्यले दुईवटा बलिस्टिक क्षेप्यास्त्रलाई खसालीदिएका जनाएको छ । संयुक्त अरब एमिरेट्सको दुबई शहरस्थित फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भएको देखिएको छ । अधिकारीहरूले “पाम जुमेरा क्षेत्रमा एउटा भवनमा भएको” भनेका त्यस घटनामा चारजनालाई चोट पटक लागेको जनाइएको छ ।
खामेनी सन् १९७९ को क्रान्तिपछिका इरानका दोस्रा सर्वोच्च नेता हुन् । सन् १९८९ मा रुहोल्लाह खोमेइनीको निधनपछि उनी सर्वोच्च नेता बन्न पुगेका थिए । खामेनीका कट्टरपन्थी धारणा र नीतिहरूले नै हालको इस्लामिक गणतन्त्रमा मानिसहरूको जनजीवनलाई आकार दिएको हो ।
विगत चार दशकदेखि शक्तिमा रहिआएका खामेनीको कार्यालयको शक्तिले उनलाई देशको सर्वशक्तिमान व्यक्ति बनाएको थियो ।