राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३ चैत्र, २०८२
२०८२ चैैैत्र ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार निर्माणको तयारी र कसरत तीव्र पारिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को एक उच्च स्तरीय टोली काठमाडौं आइपुगेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा नेपाल मामिला हेर्ने अधिकारी चङ योयाको नेतृत्वमा चार सदस्यीय टोली मंगलबार एयर चाइनाको जहाजबाट छेन्दु हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।अमेरिकी सेनाको उच्च स्तरीय टोलीले आफ्नो नेपाल भ्रमण सकाएर फर्किएकै दिन चिनियाँ टोलीको आगमन हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
चङ योया नेतृत्वको यो टोली यसअघि गत माघ ८ गते र फागुन २१ को निर्वाचनअघि पनि नेपाल आएर यहाँको राजनीतिक र निर्वाचन परिस्थितिको सूक्ष्म मूल्यांकन गरेर फर्किएको थियो।स्रोतका अनुसार काठमाडौं ओर्लिएलगत्तै चिनियाँ टोलीले आफ्नो राजनीतिक भेटघाटको तालिका सुरु गरिसकेको छ। यो भ्रमणका मुख्य उद्देश्यहरूमा सरकार निर्माणको प्रक्रिया: रास्वपाले एकल सरकार बनाउने दाबी गरिरहेको वर्तमान तरल राजनीतिक अवस्थामा शक्ति सन्तुलन कसरी अगाडि बढ्छ भन्ने बुझ्नु।चीनप्रतिको दृष्टिकोण: बन्ने नयाँ सरकार र मुख्य राजनीतिक शक्तिहरूको चीनप्रतिको विदेश नीति र दृष्टिकोण कस्तो रहनेछ भन्नेबारे जानकारी लिनु।
चिनियाँ परियोजनाको कार्यान्वयन: नेपालमा सञ्चालित चिनियाँ लगानीका आयोजना र परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका विषयमा राजनीतिक तहमा छलफल गर्नु।निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै वैदेशिक शक्तिहरूको सक्रियता बढेको देखिन्छ।
एकातिर रास्वपाले सत्ता समीकरणको नेतृत्व गर्ने प्रयास गरिरहेको छ भने अर्कोतिर उत्तरी छिमेकीको यो उच्च स्तरीय उपस्थितिले आगामी सत्ता समीकरणमा बाह्य चासो र प्रभावलाई थप प्रस्ट्याएको छ। चिनियाँ टोलीले आफ्नो बसाइका क्रममा प्रमुख दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।