राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ साउन ४ नयाँ दिल्ली, (एजेन्सी) । भारतीय संसद्को मनसुन सत्रको पहिलो दिन सोमबार राजधानी नयाँ दिल्लीमा तीव्र तनाव सिर्जना भएको छ । मेडिकल प्रवेश परीक्षा (एनइइटी) मा भएको व्यापक धाँधली र अनियमितताको विरोधमा संसद् भवनतर्फ अघि बढ्न खोजेका 'कक्रोच जनता पार्टी' (सीजेपी) का हजारौँ समर्थकहरू र सुरक्षा बलबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको हो ।
प्रहरीले मार्चका लागि अनुमति नदिए पनि 'संसद् चलो' अभियान अन्तर्गत देशका विभिन्न भागबाट आएका ठूलो सङ्ख्याका युवा तथा विद्यार्थीहरू जन्तरमन्तरमा भेला भएका थिए ।
एनइइटी परीक्षामा भएको धाँधलीको निष्पक्ष छानबिन हुनुपर्ने र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै प्रदर्शनकारीहरूले तीव्र आक्रोश व्यक्त गरिरहेका थिए । अश्रुग्यास र लाठी प्रहार, दर्जनौँ घाइते प्रदर्शनकारीहरूले संसद् भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीले राखेका सुरक्षा ब्यारिकेडहरू तोड्न खोजेपछि स्थिति मुठभेडमा परिणत भएको थियो अनियन्त्रित भीडलाई तितरबितर पार्न र उच्च सुरक्षा क्षेत्र (हाई-सेक्युरिटी जोन) तर्फ जानबाट रोक्न सुरक्षाकर्मीहरूले लाठीचार्ज गर्नुका साथै व्यापक रूपमा अश्रुग्यास प्रहार गरेका थिए ।
यस झडपमा परी केही आन्दोलनकारी र सुरक्षा अधिकारीहरू सामान्य घाइते भएका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले मध्य दिल्लीका केही संवेदनशील क्षेत्रहरूमा मोबाइल इन्टरनेट सेवासमेत अस्थायी रूपमा बन्द गरिदिएको थियो । यसैबीच, आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना कार्यकर्ता तथा समर्थकहरूलाई संयमित हुन र शान्तिपूर्ण बाटो अवलम्बन गर्न अपिल गरेको छ । पार्टीले शान्ति र प्रेमका माध्यमबाट मात्रै वास्तविक जित हासिल हुने भन्दै हिंसात्मक गतिविधि नगर्न आग्रह गरेको हो।
पाँच मेट्रो स्टेशन बन्द, यात्रुहरू अलपत्रयस प्रदर्शन र सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै दिल्ली मेट्रो रेल कर्पोरेसनले निकै व्यस्त रहने पाँचवटा मेट्रो स्टेशनहरू-राजीव चोक, जनपथ, पटेल चोक, केन्द्रीय सचिवालय र सेवा तीर्थ—सर्वसाधारणका लागि पूर्ण रूपमा बन्द गरिदिएको थियो । मेट्रो स्टेशनहरू अचानक बन्द भएपछि कार्यालय समयमा यात्रा गरिरहेका सयौँ दैनिक यात्रुहरू अलपत्र परेका थिए ।
दिल्लीको सबैभन्दा व्यस्त 'इन्टरचेन्ज' स्टेशन राजीव चोकमा यात्रुहरूको अभूतपूर्व भीड लागेको थियो, जसका कारण सर्वसाधारणले गन्तव्यमा पुग्न लामो र कठिन वैकल्पिक मार्गहरू प्रयोग गर्नुपरेको थियो । संसद् सत्र चलिरहेका बेला दिल्लीमा भएको यो प्रदर्शनले राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ ।
यो विषयको स्थलगत दृश्य र विद्यार्थीहरूको मागबारे थप बुझ्न भिडियो हेर्न सक्नुहुन्छ, जसमा दिल्लीमा भएको यस प्रदर्शनको भुइँतहको वातावरण र नाराबाजी देखाइएको छ ।