राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८३ कार्तिक ०२ काठमाडौँ । युरोपका ६ देशहरूमा बढ्दो शैक्षिक खर्च, उच्च बेरोजगारी र महँगो आवास सङ्कटको विरोधमा चर्किएको आन्दोलनले उग्र रूप लिएको छ । फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा विद्यार्थी, ट्रेड युनियन तथा नागरिकहरू विरोध प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच violent झडप हुनुका साथै तोडफोड, आगजनी र लुटपाट समेत भएका छन् ।
सबैभन्दा उग्र प्रदर्शन फ्रान्समा देखिएको छ, जहाँ विद्यालयहरूको जीर्ण अवस्था, शिक्षकको अभाव र महँगीको विरोधमा १७ अक्टोबरमा १४० सहरहरूमा करिब ८ लाख मानिस सडकमा उत्रिएका थिए। पेरिस, मार्सेई र बोर्डोसहितका सहरहरूमा पसल लुटपाट हुनुका साथै लिमोजमा १४३ वर्ष पुरानो ऐतिहासिक सिटी हल र कैयौँ सवारीसाधनमा आगजनी गरिएको छ । फ्रान्समा १८ अक्टोबरसम्म १८०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने ५०० भन्दा बढी सुरक्षाकर्मी र दमकलकर्मी घाइते भएका छन् । राष्ट्रपति इमानुएल म्याक्रों र प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाको तीव्र निन्दा गर्दै केही हिंसक समूहले शान्तिपूर्ण प्रदर्शनको फाइदा उठाएको बताएका छन् ।
इटाली र स्पेनमा पनि विद्यार्थी तथा सर्वसाधारण सडक संघर्षमा छन् । इटालीका रोम र ट्युरिनसहितका सहरहरूमा शिक्षामा कम बजेट, जीर्ण भवन र बढ्दो खर्चको विरोध गर्दै विद्यार्थीहरूले विद्यालयहरूमा कब्जा जमाएका छन् । रोमस्थित शिक्षा मन्त्रालयतर्फ मार्च गरेका विद्यार्थी सङ्गठनहरूले कर्मचारीहरूलाई समेत समेट्दै ३० अक्टोबरमा राष्ट्रव्यापी हड्तालको घोषणा गरेका छन्। त्यसैगरी स्पेनको म्याड्रिडस्थित सोल चोकमा भाडा वृद्धि र विस्थापनको विरोधमा टेन्ट टाँगेर प्रदर्शन भइरहेको छ । सेप्टेम्बरको अन्त्यमा भाडा नतिरेको निहुँमा ८७ वर्षीया वृद्धालाई घरबाट निकालिएपछि चर्किएको सो आन्दोलनका बिच सरकारले २९ नोभेम्बरमा मध्यावधि निर्वाचनको घोषणा गरेको छ ।
उता ग्रिस, बेल्जियम र अल्बानियामा समेत आन्दोलनले हिंसात्मक रूप लिएको छ । ग्रिसको एथेन्समा ९६ प्रतिशत विद्यार्थी होस्टेल सुविधाबाट वञ्चित रहेको र भाडा तीन गुणाले बढेको भन्दै विद्यार्थीहरूले संसद् भवन अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका छन् । बेल्जियमको ब्रसेल्समा शिक्षा बजेट कटौतीविरुद्धको प्रदर्शनमा अश्रुग्यास र वाटर क्यानन प्रयोग गरी १५० जनालाई पक्राउ गरिएको छ ।
यस्तै अल्बानियाको तिरानामा महँगो शिक्षा, बेरोजगारी र भ्रष्टाचारको विरोध गर्दै हजारौँ युवाले प्रधानमन्त्री एडी रामाको राजीनामा माग गरेका छन् । त्यहाँ ५ दिनदेखि जारी आन्दोलनमा सरकारी भवन तथा बैंकहरूमा आगजनी भएपछि १६७ जना पक्राउ परेका छन् भने प्रधानमन्त्री रामाले तोडफोड नगर्न चेतावनी दिँदै वार्ताको प्रस्ताव राखेका छन् ।