आईतवार, ३१ जेष्ठ, २०८३

भाषा, साहित्य र संस्कृति बिनाको समृद्धि अपूरो हुन्छ: सञ्चारमन्त्री डा. तिमिल्सिना

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

भाषा, साहित्य र संस्कृति बिनाको समृद्धि अपूरो हुन्छ: सञ्चारमन्त्री डा. तिमिल्सिना

 २०८३ जेष्ठ ३०, काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्द्धनबिनाको समृद्धि अपूरो हुने बताएका छन् । 

गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताए ।

“कला र साहित्य राष्ट्रको बल र पहिचान हो,” मन्त्री तिमिल्सिनाले भने, “भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन । साहित्यलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सरकारले गम्भीरपूर्वक सोच्ने बेला आएको छ ।”

उनले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताए। साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नतिजामुखी र दिगो प्रभाव पार्ने नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

सञ्चार मन्त्री तिमिल्सिनाले राजनीतिक क्षेत्रले साहित्य र कलाको महत्त्वलाई अपेक्षित प्राथमिकता दिन नसकेको धारणा व्यक्त गरे । समाजलाई बुझ्न, मानव संवेदनालाई पहिचान गर्न र जीवनका विविध पक्षलाई विश्लेषण गर्न साहित्यले महत्त्वपूर्ण सहयोग गर्ने उल्लेख गर्दै उनले साहित्यिक चेत र अध्ययनले अन्य क्षेत्रमा काम गर्दा पनि निरन्तर सहयोग पुर्‍याएको अनुभव सुनाए।

उनले लामो इतिहास बोकेका सरकारी तथा सार्वजनिक सञ्चार संस्था तथा साहित्यिक र सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संस्थालाई नयाँ जीवन दिनु र आर्थिक रूपमा सबल बनाउनु आवश्यक रहेको बताए। “हाम्रो इतिहासको पुनर्जागरण गर्ने बेला आएको छ,” उनले भने।

समस्यामा परेका सरकारी संस्थाले सरकारबाट अतिरिक्त बजेट र सहयोगको अपेक्षा मात्र गरेर सबल हुन नसक्ने स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले संस्थागत कार्यशैली, व्यवस्थापन क्षमता र उत्तरदायित्वमा पनि सुधार आवश्यक रहेको बताए।

“सरकार व्यवस्थापक मात्रै हो, सरकारसँग भएको रकम पनि जनताकै रकम हो,” उनले भने, “त्यसैले जनताको पैसा सही तरिकाले प्रयोग हुनुपर्छ । आर्थिक पक्षको कुरा मात्रै गरेर हुँदैन, कार्यशैलीमा पनि व्यापक सुधार आवश्यक छ ।”

विगतमा संस्थागत संस्कार विकास गर्न नसकिएको र सरकारी संस्थानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्रका रूपमा प्रयोग गरिएका कारण धेरै संस्था कमजोर बन्न भएका उनको भनाइ थियो । अहिले संस्थाहरू चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले ती अवस्थाबाट माथि उठ्न सुधारको स्पष्ट मार्गचित्रसहित सरकारले काम गरिरहेको बताए ।

“अब सुधार कसरी गर्ने भन्ने सवालमा सरकार जिम्मेवार र जबाफदेही बन्छ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “यसमा सबै क्षेत्रको साथ आवश्यक छ । संस्थाहरू पनि नयाँ बल, नयाँ सोच र नयाँ कार्यशैलीका साथ अघि बढेको देख्न पाइयोस् भन्ने अपेक्षा छ ।”

गोरखापत्र संस्थानलाई अझ ओजपूर्ण, व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमलाई उपलब्ध गराइँदै आएको लोककल्याणकारी विज्ञापन नरोकिएको स्पष्ट पारे । 

कार्यक्रममा ‘मधुपर्क सम्मान–२०८३’ अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भाउपन्थी तथा ‘मधुपर्क प्रतिभा सम्मान’बाट डा. गीता त्रिपाठीलाई सम्मान गरिएको थियो । उनीहरूलाई सम्मानपत्रसहित रु ५० हजार नगद प्रदान गरिएको गोरखापत्र संस्थानले जनाएको छ । मधुपर्कका पूर्वसम्पादक कपिल घिमिरेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

advertisement_1676998982.gif