मंगलवार, १२ श्रावण, २०८३

सुनसरी झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, २० घण्टा पहिले

सुनसरी झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते

२०८३ साउन ११, विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा आठ जना प्रदर्शनकारी र आठ जना प्रहरीसहित १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो।

गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राति उनको निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद चर्किँदै झडपमा परिणत भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ। टनामा घाइते भएका आठ प्रदर्शनकारीको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये अधिकांशलाई गोली लागेको प्रहरीले जनाएको छ।

कोशी अस्पतालमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको उपचार भइरहेको छ । यस्तै विराट नर्सिङ होममा २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको उपचार भइरहेको छ ।

झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। राईको टाउकोमा चोट लागेको छ। साथै प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी जवान रामबहादुर राई, विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार झडपका क्रममा कप्तानगन्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1680627680.gif