राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ साउन ०२, जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ७० प्रतिशत राजस्व संकलन गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार गत आवमा रु ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार राजस्व संकलन गरेको छ । जसमध्ये आन्तरिक राजस्व संकलन रु पाँच अर्ब ७६ करोड ५६ लाख २४ हजार रहेको अर्थ मन्त्रालयका तथ्यांक अधिकृत राजेन्द्र आचार्यले जानकारी दिए।
प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशनबाट रु एक अर्ब ७७ करोड ९५ लाख २२ हजार र सवारीसाधन करबाट रु दुई अर्ब २७ करोड ८० लाख ९७ हजार राजस्व संकलन गरेको छ । गत आवमा सवारी चालक अनुमतिपत्र वितरण तथा सवारी दर्ता दस्तुरबाट रु ७९ करोड ५६ लाख २९ हजार, यातायात क्षेत्रको आम्दानीबाट रु १२ करोड ६३ लाख ९२ हजार, दहत्तर बहत्तरको बिक्रीबाट रु २० करोड १५ लाख ७३ हजार राजस्व संकलन भएको छ ।
प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ८६ करोड ८५ लाख छ हजार, अन्त:शुल्क करबापत रु तीन अर्ब २० करोड ४३ लाख ९१ हजार प्राप्त गरेको छ ।
त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु सात अर्ब छ करोड १६ लाख ७८ हजार, सशर्त अनुदान चालुतर्फ रु दुई अर्ब १७ करोड २७ लाख ७२ हजार, सशर्त पुँजीगततर्फ रु एक अर्ब ५६ करोड ३० लाख ४० हजार प्राप्त भएको तथ्यांक अधिकृत आचार्यले बताए ।
आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत राजस्व संकलन हुन नसकेको अर्थ मन्त्रालयका सूचना अधिकारी अंशकुमार झाको भनाइ छ ।