सोमबार, १ मंसिर, २०८३

मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मङ्सिर ४ गतेभित्र दाबी पेस गर्न आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २९ कार्तिक, २०८३

मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मङ्सिर ४ गतेभित्र दाबी पेस गर्न आह्वान

२०८३ कार्तिक २८ जनकपुरधाम।मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका छन्।

मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम दिएको  राजीनामा आज स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको यो कदम चालेको हो। संविधानको यस धाराअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरिनेछ।

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न इच्छुक प्रदेशसभा सदस्यहरूलाई आगामी २०८३ साल मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्मको समयसीमा ताेकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। तोकिएको समयसीमाभित्र बहुमतसहित दाबी पेस गर्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्।

advertisement_1680627706.gif