आईतवार, ३१ जेष्ठ, २०८३

काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै

२०८३ जेष्ठ ३०, रामेछाप । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुच्चाकोटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म सनाखत भएका मृतकहरूमा काभ्रेको रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानकी ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–६ कै ७५ वर्षीय इन्द्रबहादुर तामाङ तथा रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ रहेका छन् ।

त्यसैगरी, दैलेख निवासी ३० वर्षीय बमबहादुर भण्डारीको पनि पहिचान भएको छ । उनी भकुण्डेबेँसीस्थित त्रिनेत्र दल गणमा कार्यरत नेपाली सेनाका अमलदार रहेको प्रहरीले जनाएको छ ।

यस्तै, सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ निवासी २२ वर्षीया सुमि तामाङको पनि सनाखत भएको छ । उनको पहिचान श्रीमान निराजन घिसिङले गरेका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने अझै सनाखत हुन सकेको छैन । तीमध्ये एक जना अन्दाजी ६० देखि ६५ वर्ष उमेरका पुरुष र अर्की अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी महिला रहेको जनाइएको छ ।

दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ भने उनीहरूको चिकित्सकको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको सनाखत प्रक्रिया जारी रहेको तथा बाँकी दुई जनाको पहिचान खुलाउने प्रयास भइरहेको जनाएको छ । दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

advertisement_1680627680.gif