राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ भदौ २१ काठमाडौं । त्रिशूलीमा आएको विनाशकारी बाढीपछि नुवाकोटको देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले उच्च क्षमताको एक्रो ब्रिज (Acrow Bridge) निर्माण कार्य तीव्र पारेको छ । अघिल्लो साता (भदौ १० गते) त्रिशूली नदीमा आएको भीषण बाढीले जिल्लाका अधिकांश पुल तथा सडक संरचनामा क्षति पुर्याएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत पूर्ण रूपमा प्रभावित भएको थियो ।
बाढीले विदुर नगरपालिका-५ स्थित देवीघाटमा रहेको तादी नदीको पुल र आसपासको सडक संरचना समेत ध्वस्त पारेपछि स्थानीय बासिन्दाको सम्पर्क विच्छेद भएको छ। विस्थापित यातायात प्रणालीलाई पुनःस्थापित गरी प्रभावित क्षेत्रमा सहज आवतजावत कायम गर्न नेपाली सेनाको इन्जिनियरिङ फौज २४ सै घण्टा निर्माण कार्यमा खटिएको छ ।
यातातयात सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने उद्देश्यले सेनाले तादी नदीमा ६० मिटर लामो र ५.५ मिटर चौडा भएको एक्रो ब्रिज जगैदेखि तयार पारिरहेको छ । ५० टन भारवहन क्षमता रहने यो अस्थायी तथा बलियो पुल निर्माण सम्पन्न भएपछि भारी सवारी साधनहरू समेत सहजै आउजाउ गर्न सक्नेछन् ।
केही दिनभित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएकाले देवीघाट र आसपासका बस्तीमा पुनः यातायात सञ्चालन भई जनजीवन सामान्य बन्नेमा स्थानीयहरू आशावादी देखिएका छन् ।