बिहीबार, १८ असार, २०८३

साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग (तस्विरसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग (तस्विरसहित)

२०८३ असार १७, काठमाडौँ । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।

सञ्चालनअघि गर्नुपर्ने आवश्यक प्राविधिक तयारीअन्तर्गत सुरुङमार्गमा प्रयोग हुने सञ्चालन तथा मर्मतसम्भार (अपरेसनल तथा मेन्टिनेन्स) सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।

परीक्षणका क्रममा सुरुङभित्र नियमित निरीक्षण, मर्मतसम्भार, सरसफाइ, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणको कार्यसम्पादन परीक्षण गरिएको थियो । सुरुङ सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेसन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षणसमेत भइरहेको छ ।

जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यस परियोजनाको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ । यसको अधिकांश रकम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ऋणबाट व्यवस्थापन गरिएको हो। सुरुङमार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ ।

परियोजनाअन्तर्गत मुख्य सुरुङको लम्बाइ करिब २.६८ किलोमिटर रहेको छ । साथै, उद्धारका लागि छुट्टै आपत्कालीन सुरुङ पनि निर्माण गरिएको छ । सुरुङमार्गसँगै पहुँच सडक, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनासमेत निर्माण गरिएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए । सोही वर्ष निर्माण कार्य सुरु भए पनि कोभिड–१९ महामारी, जग्गा अधिग्रहण, प्राविधिक चुनौती तथा अन्य व्यवस्थापकीय कारणले परियोजना सम्पन्न हुन केही ढिलाइ भएको थियो । हाल निर्माण कार्य लगभग सम्पन्न भई अन्तिम सञ्चालन तयारी भइरहेको छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि सुरुवाती चरणमा निश्चित मापदण्डअनुसार सवारीसाधनलाई प्रवेश दिइनेछ । सुरुङभित्र गति सीमा, सवारीसाधनबीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको कडाइका साथ पालना गराइनेछ । सुरुङको सञ्चालन, निगरानी तथा आपत्कालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रमार्फत गरिने व्यवस्था मिलाइएको छ ।

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक सवारीसाधनको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ । यसले नागढुंगा सडकखण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय, इन्धन खपत तथा सवारी सञ्चालन लागत घटाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

advertisement_1680627680.gif