सोमबार, १८ फाल्गुन, २०८२

धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १३ फाल्गुन, २०८२

धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित

२०८२ फागुन १३, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्‍याउने स्थानीय अरुण थपलियालाई सम्मान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सिंहदरबारमा एक समारोहकाबीच उनलाई सम्मान गरेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले उहाँलाई सम्मान प्रदान गर्दै स्वतःस्फूर्त रूपमा स्वयंसेवा गरेका थपलियालाई धन्यवाद दिए । उनले जुनसुकै विपद्का घटनामा स्थानीय नै सबैभन्दा पहिले पुग्ने हुनाले प्राधिकरणले तालिम दिएरै स्थानीय स्वयंसेवक उत्पादनको कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी पनि दिए ।

थपलियाले आफूले सूचना पाउनासाथ कसरी उद्धारमा खटिए र रातको समय तथा ठाडो भिरका कारण उद्धारको काममा झेल्नुपरेको कठीनाइका बारेमा आफ्नो अनुभव सुनाए । बेनिघाट रोराङ गाउँपालिका–५ चरौँदीका स्थानीय र्‍याफ्टिङ व्यवसायी थपलियाले व्यक्तिगत र्‍याफ्टको प्रयोग गरी २४ जना घाइतेको उद्धारको काममा सुरक्षाकर्मीलाई सहयोग गरेका थिए ।

यही फागुन ११ गते साँझ पोखराबाट काठमाडौं आइरहेको यात्रुबाहक बस बिहान करिब १ः३० बजे धादिङको भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो।

advertisement_1676553908.gif