बुधबार, १० असार, २०८३

ढोरपाटन नगरपालिकाले गर्यो ६२ करोड ७० लाख ६६ हजार बजेट सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

ढोरपाटन नगरपालिकाले गर्यो  ६२ करोड ७० लाख ६६ हजार बजेट सार्वजनिक

२०८३ असार ०९, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ६२ करोड ७० लाख ६६ हजार २ सय रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर उप–प्रमुख धन बहादुर कायतले नगरसभाको बैठकमा मंगलबार उक्त बजेट वक्तव्य प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले “कृषि, पर्यटन, मध्यपहाडी व्यापारिक नगरः समुन्नत र समृद्ध ढोरपाटन विकासको आधार’’ भन्ने मुख्य सोच र “उत्पादनशिल रोजगारी, मर्यादित जीवन, समावेशी र सुशासनयुक्त नगरपालिका’ बनाउने लक्ष्यका साथ बजेट ल्याएको छ । विनियोजित कुल बजेटमध्ये चालुतर्फ ४४ करोड ६२ लाख ६६ हजार २ सय रुपैयाँ र पुँजीगततर्फ १८ करोड ८ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आवश्यक स्रोत विभिन्न सरकारी अनुदान, राजस्व बाँडफाँड र आन्तरिक आयबाट जुटाउने अनुमान गरेको छ । बजेटका मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १० करोड ७३ लाख, सशर्त अनुदान २८ करोड ४० लाख ९६ हजार २ सय, समपूरक अनुदान (फोहोर व्यवस्थापन र सडक) १ करोड २६ लाख, र विशेष अनुदान (बहुक्षेत्रीय पोषण) तर्फ १ करोड ८० लाख रुपैयाँ यसैगरी संघीय राजस्व बाँडफाँडबाट ११ करोड ६५ लाख ३१ हजार रुपैयाँ अनुमान छ ।

यसैगरी गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १ करोड २५ लाख ७४ हजार, विशेष अनुदान (बुर्तिबाङ खानेपानी) ४० लाख, समपूरक अनुदान (ढोरपाटन नदी बेलिब्रिज) ६० लाख, र सवारी साधन कर (राजस्व बाँडफाँड) तर्फ १ करोड १८ लाख ६० हजार रुपैयाँ अनुमान नगरपालिकाको छ । त्यस्तै स्थानीय स्रोतमध्ये नगरपालिकाको आन्तरिक राजस्व अनुमान २ करोड ९९ लाख ४५ हजार, मालपोत राजस्व बाँडफाँड ८५ लाख र चालु वर्षको बैंक मौज्दातबाट १ करोड ८० लाख रुपैयाँ उपयोग गरिने नगरपालिकाले उल्लेख गरेको छ ।

ढोरपाटनले सामाजिक विकासतर्फ संघीय सशर्त अनुदानसहित कुल ३१ करोड ४० लाख ७० हजार रुपैयाँ विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुद, बालविकास शिक्षक, विद्यालय कर्मचारी, सामुदायिक सिकाई केन्द्रका परिचालक र नगर अनुदान शिक्षकहरूको पारिश्रमिकका लागि ४ करोड ९ लाख रुपैयाँ छुट्याइएको छ ।

स्थानीय पाठ्यपुस्तक “हाम्रो ढोरपाटन’’ छपाईका लागि ६ लाख, सामुदायिक विद्यालयमा ई–हाजिरी व्यवस्थापनका लागि ८ लाख, बालविकास कक्षाकोठा सिकाई सामग्रीका लागि ३ लाख र घुम्ती विद्यालय सञ्चालनका लागि २ लाख रुपैयाँ विनियोजन गरिएको छ । आईसिटी तालिम र शैक्षिक विकासका लागि थप ५० लाख रुपैयाँ तथा खेलकुद विकासका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

यसैगरी स्वास्थ्य तथा आयुर्वेद सेवातर्फ संघीय सशर्त बाहेक स्वास्थ्य र आयुर्वेदतर्फ ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा नियमित तथा आकस्मिक औषधि खरिदका लागि ८ लाख, बोबाङ र अधिकारीचौर स्वास्थ्य चौकीमा प्रसूति प्रतिक्षालय भवन निर्माणका लागि ८ लाख, कुदुम गाउँघर क्लिनिक बर्थिङ सेन्टर निर्माणका लागि ३ लाख, र एकीकृत स्वास्थ्य परीक्षणका लागि ४ लाख रुपैयाँ छुट्याइएको छ । यसका साथै लक्षित वर्गको स्वास्थ्य बिमामा ५० प्रतिशत साझेदारीका लागि ४ लाख, महिला स्वास्थ्य स्वयंसेविकाका लागि ३ लाख र आयुर्वेद औषधिका लागि ५ लाख रुपैयाँ व्यवस्था गरिएको छ ।

लैङ्गिक तथा सामाजिक समावेशीकरण अन्तर्गत छुवाछुत तथा जातीय विभेद अन्त्य, मानव अधिकार प्रवद्र्धन, महिला, बालबालिका, अपाङ्गता, र आदिवासी जनजातिका कार्यक्रमका लागि ३० लाख र महिला उद्यमी कार्यक्रमका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधार क्षेत्रसँग सम्बन्धित योजना तथा कार्यक्रमका लागि कुल १० करोड ३२ लाख ९६ हजार २ सय रुपैयाँ विनियोजन गरिएको छ । झोलुङ्गे पुल साझेदारी, ढोरपाटन नदी बेलिब्रिज (वडा नं. ९), एकबाले बेलिब्रिज मोटरेबल पुल (वडा नं. ५), सकुरदुङ र दोगाडी पक्की कल्भर्ट निर्माण, खोलाखर्क छोटा देउराली भवन निर्माण, र हुन्द्राफेदी पुर्कोट जोड्ने मोटरबाटो (वडा नं. ३) जस्ता योजनाका लागि १ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ । वडा र पालिकास्तरका अन्य भौतिक पूर्वाधारका लागि ५ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ भने विपद् तथा वर्षाका कारण भत्किएका संरचना मर्मत र वडा प्रशासनिक भवन निर्माणलाई पनि बजेट तोकिएको छ ।

बुर्तिबाङ खानेपानी आयोजना, साना सिँचाइ र खानेपानी कार्यक्रमका लागि ५८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने ‘उज्यालो ढोरपाटन’ अभियान अन्तर्गत सडक बत्ती विस्तारका लागि आवश्यक बजेट व्यवस्था छ ।

कृषि क्षेत्रका लागि कुल ३० लाख रुपैयाँ विनियोजन गरिएकोमा प्रथम ढोरपाटन आलु महोत्सवका लागि मात्रै २५ लाख रुपैयाँ छुट्याइएको छ । ५०% अनुदानमा मौरी पालन, आधुनिक कृषि औजार (मिनिटेलर/काम्बाइन्ड मिल) वितरण, मकैको बीउ र बेमौसमी तरकारी खेती तालिमका लागि २२ लाख तथा फलफूल प्रवद्र्धनका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पशु सेवातर्फ कुल २३ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसमा औषधि खरिदका लागि ९ लाख ५० हजार, पशु बीमा प्रिमियम अनुदान, उत्पादनमा आधारित अनुदान, र घाँस काट्ने मेसिन वितरणका लागि एकमुष्ट २० लाख तथा पशु बधस्थल निर्माण एवं मासु पसल सुधारका लागि ३ लाख रुपैयाँ छुट्याइएको ।

प्रसिद्ध रुद्रताल संरक्षण, ढोरपाटन हिलाम्मे चौर सडकमा ग्राबेल गर्ने कार्य, मेलापर्व संरक्षण र सहकारी वित्तीय साक्षरता एवं अनुगमनका लागि ३ लाख रुपैयाँ छुट्याइएको छ । रोजगार, सीप तथा उद्यमशीलताका लागि १७ लाख ६० हजार, लघु उद्यमका लागि २ लाख र व्यवसाय दर्ता एवं नियमनका लागि ३ लाख रुपैयाँ व्यवस्था गरिएको छ । पूर्वाधारसँग जोडिएका आर्थिक विकासका कार्यक्रमका लागि कुल ५ करोड १० लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकामा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित एकीकृत सेवा प्रवाहका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । सबै वडा कार्यालयहरूमा ई–हाजिरी नवीकरण, इन्टरकम र सीसी क्यामेरा जडानका लागि २३ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनका लागि ७ लाख र राजनीतिक नक्सा निर्माणका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ । संस्थागत विकास र सुशासनका लागि कुल १ करोड ९९ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।

सम्भावित प्राकृतिक प्रकोप र विपद् व्यवस्थापन सामग्री खरिदका लागि २५ लाख रुपैयाँको कोष व्यवस्था गरिएको छ ।

advertisement_1676553908.gif