शुक्रबार, १६ आश्विन, २०८३

हिम्लुङ हिमपहिरो : थप ८ जनाको शव भेटियो, मृतकको संख्या १५ पुग्यो

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

हिम्लुङ हिमपहिरो : थप ८ जनाको शव भेटियो, मृतकको संख्या १५ पुग्यो

२०८३ असोज १५ मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी हराइरहेकामध्ये बिहीबार थप आठ जनाको शव भेटिएको छ । योसँगै गत असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको संख्या १५ पुगेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान चार र दिउँसो थप चार जनाको शव फेला परेको हो ।

बिहीबार भेटिएका ८ शवमध्ये ६ वटा फु गाउँमा र २ वटा शव सदरमुकाम चामे ल्याइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै शवको हेलिकोप्टरमार्फत ल्याइएको हो । उनका अनुसार आवश्यक कानुनी प्रक्रियाको लागि काम भइरहेको छ ।

सम्पर्कविहीन एक जना हिमालयन होलिडेजका हुन् । उनको खोजी भइरहेको प्रशासनले जनाएको छ ।

यसैबीच, नेपाली सेनाको टोलीले स्थानीय प्रशासन र अन्य सुरक्षा निकायको समन्वयमा चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोले थुनिएको मर्स्याङ्दी नदीको बहाव खुलाउने र अवरुद्ध विद्युत् प्रसारण लाइन मर्मतको काम गरिरहेको छ ।

असोज ११ गते बिहान हिम्लुङ हिमालको आधार शिविरमा हिमपहिरो गएको थियो । हराइरहेकाहरूको खोज तथा उद्धारका लागि नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले ११ सदस्यीय दक्ष उद्धार टोली परिचालन गरेको छ ।

advertisement_1676998982.gif