मंगलवार, २६ श्रावण, २०८३

म्याग्दीमा सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति: एक बेपत्ता

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

म्याग्दीमा सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति: एक बेपत्ता

२०८३ साउन २६, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान सुक्खा पहिरो खस्दा एक जना कामदार बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार विद्युत्गृहभन्दा माथिल्लो पहाडबाट ढुङ्गासहित खसेको पहिरोमा पुरिएर अन्नपूर्ण-६ का ५५ वर्षीय कामदार दीपक बरुवाल बेपत्ता भएका छन् । दुर्घटनामा गौरीगंगा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन् ।

बेपत्ता बरुवालको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ । पहिरोबाट घाइते अवस्थामा उद्धार गरिएका विकलाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको यस आयोजनाको विद्युत्गृहमा पहिरोले पुर्‍याएको क्षतिपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने उपकरणहरूमा ठूलो क्षति पुगेको छ ।

advertisement_1676551646.gif