राष्ट्रिय सन्देश संबाददाता, ५२ मिनेट पहिले
२०८३ असोज २३ पोखरा । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
यसअघि तीन जनाको मृत्यु भएको घोषणा गरिएकोमा उपचारका क्रममा थप दुई जना बालिकाको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका अन्यको उपचार भइरहेको छ । मृत्यु भएका विद्यार्थीको पहिचान खुल्न बाँकी रहेको र उद्धार कार्य सम्पन्न भएपछि पहिचानको प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक कार्कीले बताए ।
पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो ।
दुर्घटनाग्रस्त बसमा २५ जना सवार रहेको बताइएको छ । उनीहरूमध्ये २१ जना विद्यार्थी रहेका छन् । सबै विद्यार्थी कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।